दैलेखमा गोरु काट्ने एक जना पक्राउ ,
भदौ २७ ,सुर्खेत – कर्णाली प्रदेश दैलेखमा बारीमा बाँधेका चिमिकेका हलगोरु काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भैरवी गाउँपालिका २ रावतकोटका कमल थापाका हल गोरु काटेको भन्दै छिमेकी २२ वर्षका राजेश विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बारीमा बाँधेर राखेका गोरुलाई कसले यसरि निर्मम तरिकाले काट्यो भन्ने विषयमा भने अनुसन्धान चलिरहेको छ। बिहिबार आफुले बाँधेको बारीबाट माथिल्लो बारीमा गोरु सार्न पुगेका थापा पुग्दा गोरुको हालत देख्दा उनि बेहोस भएका थिए ।
गोरूको दुइटै खुट्टा छिनाइदिएका छन्, मुखमा पनि धारिलो हतियारले छियाछिया पारेर काटिएको छ।अर्को गोरूको एउटा खुट्टा र पुच्छर छिनाइएको छ भने मुख र जुरोमा छियाछिया हुनेगरी धारिलो हतियारले काटिएको छ।
धारिलो हतियारले काटेको एउटा गोरु मरिसकेको र अर्को गम्भीर घाइते भएको किटानी जाहेरीपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र आचार्यले जानकारी दिए ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २८९ उपदफा ९२० मा गाई वा गोरु मार्ने व्यक्तिलाई तीन वर्ष कैद अनि अङ्गभङ्ग बनाए ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

