बलात्कारको घटना ५ लाखमा मिलाउने पञ्चसहितको समूह पक्राउ,
असोज १८ ,काठमान्डौ – बलात्कारको घटना गाउँमै मिलाउने पञ्चसहित घटनामा संलग्न ८ जनालाई सिराहामा प्रहरीले पक्राउ गरेको छ।
सिरहाको विष्णुपुर १ मा स्थानीय २० वर्षीय मुकेशकुमार सिंहले गाउँकै १६ वर्षीय किशोरीलाई असोज १२ गते जबर्जस्तीकरणी गरेका थिए।
मुकेशले बालिकामाथि जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडितका भाइले रिसमा आएर पीडित बालिकालाई नै कुटपिट गरी घाइते बनाएका थिए।
घाइते भएकी पीडितलाई आफन्तको सहयोगमा स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर थप उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होममा लागेका थिए।
अस्पतालबाट उनी शुक्रबार घर फर्कँदा गाउँका पञ्चहरुले यस घटनालाई गाउँमै मिलाउनेगरी कागज तयार पारेका थिए।
बलात्कार घटनालाई गाँउमा मिलाएको भन्दै प्रहरीले जानकारी पाएपछि अनुसन्धान गरि प्रहरीले पञ्चहरुसहित संलग्न पिडकलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।
पक्राउ पर्नेमा पिडक २० वर्षीय मुकेश कुमार साह तथा पञ्चहरु ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्द कुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राज कुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राज कुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्याम सुन्दर यादव रहेको प्रहरी प्रवक्ता प्रसाईले बताए।
पञ्चहरुले जवरजस्ती करणीको घटना गाउँमै मिलाउन पीडकको आफन्तसँग ५ लाखको तमसुक कागज समेत गराई उक्त कागज जगविर यादवको जिम्मा लगाएका थिए।
प्रहरीले जगविरको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन भनी गरेको काजग फेला परेको छ। बलात्कारको घटना मिलाउन पञ्चहरुले रकम दिने नक्कली ऋणी र धनी खडा गरेका छन्।
काजगमा धनी रामगुलाम यादव, लक्षुमण यादव उल्लेख गरिएको छ भने सिंहेश्वर साह र शत्रुधन साहलाई ऋणीको रुपमा उभ्याएर ५–५ लाखको तमसुक बनाइएको छ। पञ्चहरु नै ऋणीको रुपमा उभिएका छन्।

