माओवादी केन्द्रमा ९९ केन्द्रीय सदस्य थप्ने तयारि
असार ७ काठमान्डौ – नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । केन्द्रले ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु तयारि गरेको श्रोतले जनाएको छ।
नयाँ सदस्य थप्ने क्रममा ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिइने जसमा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको कार्यदल सदस्य पम्फा भुसालले बताईन ।
कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताए ।
सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो ।
कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।
केन्द्रीय समितिमा क-कसलाई थप्ने भनेर हाल माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । यसअघि गत चैतमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति २ सय सदस्यीय हुने बताएका थिए ।
कार्यदल सदस्यहरुले भने छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले २ सय ९९ सदस्यीय बनाउन सुझाव दिएका छन्।केन्द्रीय समिति टुंगो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुंगो लाग्ने छ ।
यसतै नेकपा माओवादी केन्द्र छोडेर एमाले तिर गएका केन्द्रिय कमिटिका नेताहरुको पनि पदपूर्ति गरिने श्रोतले जनाएको छ।
त्यसतै एमालेसँग एकता भए यता ५ जना केन्द्रीय सदस्यहरुको मृत्यु भएको पनि जानकारी गराइएको थियो।
कुनै समयमा माओवादी केन्द्रमा ४ हजार केन्द्रिय समिति थिए। २०७५ जेठ ३ गते एमाले माओवादी केन्द्रको एकतामा माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बनेका थिए ।

