धनगढीमा स्थानीयले ढुंगा प्रहार गर्दा १३ जना प्रहरी घाईते प्रहरीको हेल्मेटनै फुट्यो

साउन ६ धनगढी – धनगढीमा स्थानीयले ढुंगा प्रहार गर्दा १३ जना प्रहरी घाईते भएका छन्। धनगढी उपमहानगरपालिकाको मिलन चौकमा वडा नम्बर २ र ३ को बिच पानी निकासी गर्ने नाला बिवादले  भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयको ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरी बलका ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जमेको पानी वडा नम्बर २ तर्फ निकास गर्दा आफ्नो क्षेत्रमा डुबानको हुने भनेपछि स्थानीयले उक्त पानी मोहना नदीमा निकास गर्न माग गरेका थिए।

सोहि कारणले मोहनापुल-अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट वडा नम्बर २ का स्थानीयले बन्द गरेका थिए। कल्भर्ट बन्द भएपछि वडा नम्बर ३ का केही बस्ती र नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा परेको थियो।

३ नम्बर डुबानमा परेपछि पानी निकास गर्न वडान. २ का स्थानीयले लगायत अन्य स्थानीयले पनि बन्द गरेको कलभर्ट खोल्नुपर्ने माग राखेका थिए । प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेपछि २ नम्बरका स्थानीय र प्रहरीबीच झडप भएको हो।

झडप नियन्त्रणमा लिन संयुक्त सुरक्षा निकायबाट प्रहरीले ५७ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो। स्थानीयको ढुंगा लागेर प्रहरीले प्रयोग गर्ने मेघाफोन ,पारदर्शी सिल्ड १० थान, हेल्मेट ३ थान क्षति भएको छ भने ढुंगा प्रहार गर्ने झडपबाट दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीलेले बताए।