सुर्खेतमा दश हजार दर्शक अट्ने क्षमताको रङ्गशाला निर्माण हुँदै
सुर्खेत – कर्णाली प्रदेश सुर्खेतमा प्रदेश रङ्गशाला बनाउन प्रदेश सरकार र निर्माण व्यवसायीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
१० हजार दर्शक अट्ने क्षमताको रङ्गशाला निर्माण हुने गरि कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसी-जीएसएल कम्पनीबीच आज आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री जिबन बहादुर शाहीको उपस्तिथीमा प्रदेश सरकार र निर्माण व्यवसायीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका ८ मा निर्माण गरिने रङ्गशाला कम्पनीले २०८१ जेठ ११ गतेभित्र सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने छ।
कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर निर्माण कार्य समयमै सम्पन्न हुने जनाईएको छ। एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार छ सय रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता हस्ताक्षर भएको परिषद्ले जनाएको छ ।

