एक किलो सुनसहित एक जना पक्राउ
पोखरा – पोखरामा अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। पोखरा १५ रामबजार बस्ने रमेश सुनारलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा,३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् ।
अवैधरुपमा सुनको ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौंडाबाट संयुक्त टोली खटिएको थियो ।
प्रहरीले माइक्रोमा जाँचका क्रममा रमेशको साथबाट चारपाटे बिस्कुट आकारको सुन बरामद गरेको हो । उनको साथबाट विभिन्न बैंकका ३ थान चेकबुकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सुनारलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले जनाए ।