धरानका मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै भरमा युवक पक्राउ
भदौ २३
धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै भरमा प्रहरीले पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका-१५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर छाडेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले मेयरलाई दुर्व्यवहार गरेको सूचना आएपछि लिम्बूलाई नियन्त्रणमा लिएको बताए ।
तर मुद्दा चलाउनुपर्ने कारण नभएकाले उनलाई छाडिएको उनी बताउँछन। युवकले भने मेयरलाई दाइ भन्दै प्रश्न गरेको भिडियो सार्वजनिक भएको छ।
मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागू औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन् ।
शुक्रबार अपराह्न उनी धरान उपमहानगरपालिका-१५ मा पुगेका थिए । उनले हाते माइक लिएर सम्बोधन गर्दै स्थानीय बासिन्दालाई सरसफाइमा ध्यान दिन आग्रह गर्दै थिए ।
त्यसै क्रममा स्थानीय अशोक लिम्बूले उपमहानगरपालिकाले सडकमा पानी बगिरहँदा पनि नियन्त्रण नगरेको र त्यसले स्थानीय एक बिरामी परिवार समस्यामा परेको बताएका थिए ।
उनले साम्पाङलाई सरि है दाइ भन्फै प्रश्न गरेका थिए तपाईंहरुले पानी त हेर्न सक्नुभएको छैन दाइ, बाटोमा पानी बगिरहेको छ ।
तर मेयर साम्पाङले भने के रे भाइ चुप लाग, तिमी विरोध गर्न आएको हो भन्दै उनलाई हप्काएका थिए । त्यसपछि युवक लिम्बूले बोल्न पाइँदैन भन्दै प्रतिवाद गरेका थिए ।
यो संगै अहिले हर्क साम्पाङको देश विदेशबाट समर्थकले विरोध गरेका छन । प्रश्न गरेकै भरमा युवकलाई पक्राउ गर्न लगाएको भन्दै उनको आलोचना भएको हो।