जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका सात जनाको सकुशल उद्धार
असार ४ ,जाजरकोट – जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका सात जनाको सकुशल उद्धार गरिएको छ। कुसे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना गोठाला पुगेका उनीहरु केहिदिन यताको हावा हुरीले पाटनको जलजलाबाट बेपत्ता भएका थिए ।
बेपत्ताको खोजी गर्नको लागि प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली २ दिन पैदल हिँडेर जलजला पाटन पुगेको थियो । मौसम खुल्ला भएसंगै शुक्रबार प्रहरी टोली जलजला पुगेर बेपत्तालाई फेला पारेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।
उनीहरु चारदिन यताबाट खालि गोठमा भोकै प्यासी अर्धचेत अवस्थामा फेला परेका थिए। उद्दार गरेपछि तत्काल प्राथिमक उपचार गरिएको पनि थापाले बताए। हावाहुरीका कारण कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीया धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय बेपत्ता भएका थिए ।

