साढे ७ प्रदर्शन हल हलमा ,,
रंग दर्पण १४ फाल्गुन -गायक भर्सेज अभिनेता सत्यराज आचार्यको निर्माण र अभिनय रहेको फिल्म ‘साढे ७’ अहिले सिनेमाघरहरुमा प्रदर्शनरत छ । उनी यही फिल्मको रनाहामा छन् । डेढ करोड लगानी रहेको भनिएको फिल्मले सोचेजस्तो व्यापार गरिरहेको छैन ।
फिल्मको ट्रेलरले राम्रै प्रशंसा पाएको थियो । तर, त्यसबमोजिम फिल्म नचल्नुको कारण के होला ?
‘फिल्म हामीले अली गलत समयमा चलाएछौं,’ सत्यराजले भने ।
‘किन ?’
‘भर्खरै पद्मावत, कृ, कान्छी जस्ता फिल्महरुले धेरै दर्शकहरु ताने । अब ती दर्शकहरु केही समयको ग्यापपछि मात्रै सिनेमा हलमा आउँछन् । अहिले दर्शकहरु फिल्म हेरेर थाकेको बेला परेछ,’ उनले ब्याख्या गरे ।
फिल्मको पब्लिसिटी पनि कमजोरी भएको हो कि भन्ने प्रश्नमा पब्लिसिटीमा मात्रै आफूहरुले ३० लाख खर्च गरेको जानकारी उनले दिए ।
‘पब्लिसिटीमा हामीले कुनै कसर बाँकी राखेका थिएनौं,’ उनले भने, ‘धेरै दिनदेखि मल्टिप्लेक्सहरुमा ट्रेलर छोडेका थियौ । थुप्रै ठाउँमा होर्डिङ बोर्डहरु राखेका छौं । मिडियाहरुमा भरमार विज्ञापन दिएका छौं । यहाँभन्दा के गर्ने ?’
हुन त मल्टिप्लेक्सहरुमा फिल्मको व्यापार सन्तोषजनक नै रहेको सत्यराज बताउँछन् । सिंगल थिएटरमा चाहिँ कस्तो छ ?
‘त्यहाँ पनि ठिकै छ,’ उनले भने । यद्यपि, हलहरुबाट भएको कलेक्सनको रिपोर्ट आइनसकेको उनले बताए ।
लगानी ‘सुरक्षित’
नेपाली फिल्म निर्माताहरुमा अहिले नयाँ फन्डा सुरु भएको छ, रिलिज अगावै लगानी उठिसकेको भन्ने । हाल प्रदर्शनरत फिल्म ‘साढे ७’ का निर्माता एवं अभिनेता सत्यराज आचार्यले पनि यही दावी गरेका छन् ।
‘हाम्रो लगानी रिलिज अगावै सुरक्षित भइसकेको थियो,’ उनले भने, ‘हलहरुबाट भएको आम्दानी सबै नाफा हो ।’
उनको भनाईमा फिल्मले विभिन्न ३२ वटा ब्रान्डहरुसँग सहकार्य गरेको छ र एउटा ब्रान्डबाट औसत ३ लाख लिएको छ । यस हिसाबले ब्रान्डबाटै फिल्मले करिब एक करोड कमाएको देखिन्छ । बाँकी ५० लाख ?
‘बाँकी रकम विदेशबाट उठ्ने निश्चित भइसकेको,’ सत्यराजले भने ।
फिल्मलाई मलेसिया, जापान, कोरिया, हङकङ, अष्ट्रेलिया तथा यूरोपका विभिन्न स्थानहरुमा प्रदर्शन गर्न लागेको उनले जानकारी दिए । यो फिल्मको ओभरसिज राइट कसैलाई नबेचिकन आफ्नै च्यानलबाट प्रदर्शन गर्न लागिएको उनको भनाई छ ।
फिल्मको विषयमा दर्शक तथा समिक्षकहरुबाट सत्यराजले राम्रो फिडब्याक पाएका छन् ।
‘जति दर्शकले फिल्म हेर्नुभयो, सबैले सह्राहना गर्नुभएको छ, यसबाट हामी सन्तुष्ट छौं,’ उनले भने । उनले आफ्नो फिल्म फरक धारको भएकाले माउथ पब्लिसिटीका आधारमा बिस्तारै दर्शक बढाउँदै जाने विश्वाससमेत व्यक्त गरेका छन् ।
‘हामीले रिस्क लिएर नै यो फिल्म बनाएका थियौं,’ थि्रलर फिल्मबारे उनी अगाडि भन्छन्, ‘यस्तो जनराको फिल्ममा सुरुमै दर्शक उर्लिएर आउँदैनन्, बिस्तारै फिल्मले पिकअप लिन्छ ।’
६ जना निर्माताहरु रहेको यो फिल्मको निर्देशन छोप्देन भुटियाले गरेका हुन् । उनी फरक खालका फिल्म बनाउँछन्, तर अलि बान्की पुर्याउँदैनन् भनिन्छ । यसअघि उनको फिल्म त्यान्द्रो आएको थियो ।
अभिनयमा सत्यराज
आफ्नो निर्माण रहेको फिल्ममा आफैंले मुख्य भूमिका निर्वाह गर्ने लोभबाट सत्यराज मुक्त हुन सकेनन् । यद्यपि कथाको माग बमोजिम आफू फिट हुने देखेर नै अभिनय गरेको उनको भनाई छ ।
‘मलाई सुहाउने चरित्र भएकाले मात्रै गरेको हुँ, नत्र गर्ने थिइनँ,’ उनले भने ।
त्यसो त गायकका रुपमा स्थापित सत्यराज अभिनयमा पनि सानैदेखि अब्बल थिए । थुप्रै नाटकहरु निर्दशन र अभिनय गरेका उनले आफ्नो पिता भक्तराज आचार्यको जीवनमा आधारित फिल्म ‘आचार्य’ मा प्रमुख भूमिका निभाएका थिए । त्यसपछि उनले ‘कर्कश’ मा अभिनय गरे । दुवै फिल्ममा उनको अभिनयलाई राम्रो मानिएको थियो । उनको चौंथो फिल्म हैरान अहिले निर्माणाधिन छ ।
संगीत र गायनमा एकैचोटि सक्रिय हुँदा दुवैतिर असफल हुने डर लागेको छैन ?
यो प्रश्नमा सत्यराजले छोटो जवाफ दिए, ‘संसारमा दुई विधामा एकैचोटि हात हालेर सफल भएका धेरै व्यक्तिहरु छन् ।’
उनले भविष्यमा पनि सँगीतका साथै फिल्म निर्माण र अभिनयलाई निरन्तरता दिइरहने उल्लेख गरे