सुमार्गी संग कुनै सम्बन्ध छैन : प्रवक्ता भूसाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले व्यापारी अजेयराज सुमार्गीको आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग कुनै विशेष सम्बन्ध नभएको स्पष्ट पारेकी छन् ।

रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा प्रवक्ता भूसालले दाहालको सरंक्षणमा सुमार्गी नरहेको बताएकी हुन्।

साथै उनले सुमार्गीको धन अवैध हो भने राज्यले छानबिन गर्नुपर्ने पनि बताइन् । ‘अवैध धन हो भने राज्यले छानबिन गरेर निर्क्योल गर्नुपर्छ,’ उनले भनिन्, ‘अहिले त हाम्रो पार्टी सरकारमा छैन, सम्पत्ति शुद्धिकरण अरु लिगल के–के छ? त्यो पाटो त राज्य छ नि त, राज्यका संरचनाहरु छन्, उनीहरुले सत्यतथ्य बाहिर ल्याए हुन्छ, अहिले मिडियाले मात्रै ल्याएको छ, अब राज्यले बाहिर ल्याओस् ।’

उनले देशका अन्य नागरिकसँग राजनीतिक पार्टीहरुको अथवा अाफ्नो पार्टीको जे सम्बन्ध हुन्छ, त्यो भन्दा बढी सुमार्गीसँग विशेष सम्बन्ध नभएको स्पस्ट पारिन्। ‘स्वस्थ, मर्यादित ढंगले, देशको कानुन जसले पालना गर्छ, गर्नुहोस्, स्वस्थ सम्बन्ध बनाउनुहोस्, यत्ति कामना गर्छौं’ उनले भनिन्।

यो पनि पढ्नुहोस….

 

नक्कली नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष हिरासतमा

रामेछाप — झुटा विवरण दिइ नागरिकता लिने र दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहितलाई प्रहरीले हिसासतमा लिइ अनुसन्धान थालेको छ ।

रामेछापको भुजि-७ को निशान सुनुवारको नाम राखि नागरिकता लिने काठमाडौंका निशान जोशी, उनलाई नागरिकता लिनका लागि योजना बनाउने भुजिका हरि सुनुवार र आमा बन्ने दुनिमाया सुनुवार, सिफारिस दिने वडाध्यक्ष रुद्रमणि नेवार र वडासचिव केशर खत्रीलाई हिरासतमा राखि अनुसन्धान अघि बढाइएको हो ।

गलत व्यक्तिलाई नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सीताराम बयानका लागि तानिएका छन् । थापा हाल काभ्रे जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजिको ठेगाना बनाइ काठमाण्डौंका निशान जोशीले गएको जेठ २१ गते नागरिकता लिएका थिए । नागरिकतामा निशानले सुनुवार थर राखेको र उनलाई आफ्नो छोरा भएको भन्दै दुनिमाया सुनुवारले सनाखत गरेकी थिइन् । वडाको सिफारिस र सनाखतका आधारमा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सीताराम थापाले निशान सुनुवारको नामको नागरिकता जारी गरेका थिए ।

जोशीका बावु र आमाको ठेगान थिएन । उनी बेलायती सेनामा भर्तिका लागि तालिमका लागि धरान पुग्दा भुजिका हरि सुनुवार भेट भएका थिए । सुनुवारले नागरिकता बनाउन योजना वनाइ दुनिमायालाई छोरा स्वीकार्न लगाएका थिए । निर्वाचित वडाध्यक्ष रुद्रमणि नेवारले उनको नागरिकताका लागि सिफारिस गरेका थिए ।

गलत मानिसलाई नागरिकता दिएको भन्दै कारबाहीको लागि गृहमन्त्रालयमा स्थानीय खिपबहादुर सुनुवारले उजुरी दर्ता गराएपछि उक्त घटना सार्वजनिक भएको हो । खिपबहादुर नाताले दुनिमायाका बहिनी ज्वाइँ हुन् ।

निशानलाई दुनिमायाको छोरा भनेर नागरिकता बनाउन सिफारिस दिने वडाध्यक्ष नेवारले आफुलाई नियतवस फसाइएको बताएका छन् । मैले सिफारिस दिने बेलामा सोधेको थिए, निशानले १६ वर्षसम्म काठमाण्डौंमै बसेकोले चिन्न गाह्रो भएको होला भनेर भन्यो नेवारले भने–शैक्षिक प्रमाणपत्र र आमाबावुको नागरिकताको आधारमा सिफारिस गरेको हुँ । ‘म त फसें फसें भोलिका दिनमा अरु वडाध्यक्षहरुले यस प्रकारका सिफारिस गर्दा सचेत हुनुपर्ने भयो’उनले भने ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार झुटा नागरिकता प्रकरणमा मुछिएका सबैलाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप भएको छ ।