भारतीय च्यानल बन्द गरेपछि केबल सेवाप्रदायकलाई सरकारको धन्यवाद,
असार २६ ,काठमान्डौ – संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा भारतीय टेलिभिजनहरूको प्रशारण रोक्ने निर्णय गरी सरकारलाई सहयोग गरेको भन्दै डिजिटल केबल सेवाप्रदायकहरूलाई धन्यवाद दिएको छ ।
भारतीय संचार माध्यमबाट नेपाल र प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर प्रकाशित प्रसारित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेपालमा भारतीय च्यानल बिहिबारदेखि बन्द गरिएको हो।
भारतीय च्यानलमा नेपाल चीनको ईशारामा चलेको र नेपालका प्रधानमन्त्री देखि अन्य नेताहरी चीनको खाने र गुनगान गाउने समेत गरेको भन्दै प्रशारण गरिएको छ।
मन्त्रालयका प्रबक्ता ऋषिराम तिवारीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त यस्ता सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुन जरुरी छ।
आगामी दिनमा समेत सरोकारवालाहरूबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा मन्त्रालय विश्वास व्यक्त गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।