‘यही सरकारले देशको विकास गर्छ,सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङले गरे ठुकुवा
२३ कार्तिक,काठमाडौं-पार्टी भित्र निकै नै चलखेल भइरहेको बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन्। नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन’, उनले भने, ‘सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस्।’ नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने जनाउँदै उनले भने, ‘फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, सम्मृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु।’
उनले जनताप्रति उत्तरदायी हुँदै जनताकै पक्षमा इमान्दारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री गुरुङले निजामती कर्मचारीको अधिकारका निम्ति सरकार प्रतिबद्ध रहेको जनाउँदै जतिसक्दो चाँडो सङ्घीय निजामती सेवा ऐन संसदबाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरे।
सरकारले मन्त्रालयअन्र्तगतका सञ्चारमाध्यम र अन्य विभागलाई नयाँ गतिका साथ अगाडि बढाउने बताउँदै मन्त्री गुरुङले सञ्चार क्षेत्रबाटै नेपाललाई भ्रष्टचारमुक्त देश बनाउने बताए। सङ्गठनका विभागीय अध्यक्ष लीला भण्डारीले कर्मचारीको वृद्धि वकासमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए।