संसद पुनःस्थापन भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको सरकार बन्छ : प्रचण्ड

काठमान्डौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका छन्।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

पुस ५ मा भएको विघटनविरुद्ध लडेर संसद्‍ फिर्ता ल्याएको भन्दै प्रचण्डले यसपटक नांगो रुपमा विघटन भएको संसद पुनःस्थापन हुने विश्वास व्यक्त गरे।

‘अदालतले हेर्ने भनेको संविधान हो’, कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले पुस ५ मा संसद विघटन गरे, त्यो हामीले लडेर फिर्ता ल्यायौँ। अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ। यो पुनर्स्थापना हुन्छ।

यस्तै संसद पुनःस्थापन भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको सरकार बन्नेसमेत प्रचण्डले बताएका हुन। संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दल एक ठाउँमा उभिएको भन्दै प्रचण्डले केपी ओलीले माओवादीलाई एक्ल्याउने प्रयास गरे पनि त्यो असम्भव रहेको बताए।