माओवादी नेता वर्षमान पुनको अवस्था झन् जटिल :बैंककबाट चीन लगियो

काठमान्डौ – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ ।

थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएर उपचार प्रक्रिया शुरु गरिएको छ ।

बैंककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न शुक्रबार चीन लगिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए । पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित छन् ।

जण्डिसले सताएपछि नेता पुनलाई गत असोज १३ गते बैंकक लगेर समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उपचार गर्दा उनलाई कुनैपनि सुधार हुन नसकेपछि थप उपचार गर्न नसक्ने भन्दै चीनको सेनजेन लैजान सुझाव दिएका थिए ।

काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईंले बताएका छन् ।

पुनको नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा परीक्षण गराएपनि कुनै सुधार हुन नसकेपछि थाइल्याण्ड लगिएको थियो।

थाइल्याण्डमा पनि उल्लेखनीय सुधार हुन नसकेपछि अहिले चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार सुरु भएको छ। नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् ।