Gold

रंगमञ्चमा लिम्बू कथा ,,

Naumule Migrate

रंग दर्पण १८ –   धरान : धरानको सभागृहमा सात दिनसम्म नाटक इङघङ मञ्चन भएको छ । पूर्वी भेगको लिम्बू समाजको चित्रण गरिएको नाटकले यहाँका विविध पाटा उजागर गरेको छ ।‘आफ्नै संस्कृतिका कतिपय संस्कार हामीले सुनेका मात्र थियौं, समाजको वास्तविक रूप नाटकमा भेट्टायौं’, दर्शकको प्रतिक्रिया थियो । धरानको आधुनिक समाजमा लिम्बू जातीय संस्कृति देखाउने नाटक मञ्चन गर्ने काम चानचुने थिएन । नाटकका निर्देशक विष्णु मोक्तान भन्छन्, ‘आधुनिक समाजमा घुलमिल भएका नयाँ पिँढीलाई पुर्खाले भोगेको जीवन र त्यो बेलाको समाजको यथार्थ चित्रण गर्ने प्रयास नाटकमा गरिएको छ ।’

लिम्बू समाजभित्र बाँचेको दलित परिवारको कथा र छोरीलाई शिक्षाबाट वञ्चित गराउँदाको नतिजा नाटकमा देख्न पाइन्छ । समाजले कथित उपल्लो जात भनिएकाहरूबाट पीडित बनेकाहरूको कथा नाटकमा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । समुदायको अध्ययन गरेर मात्र पात्र छनोट र अभ्यास गरिएको निर्देशक मोक्तान बताउँछन् । आफू फरक समुदायको भए पनि लिम्बू समाजको छापले नाटक लेख्न प्रेरित गरेको मोक्तानले बताए । खिल बनेर समाजमा गढेको अन्धविश्वास हटाउन कठिन भएको बताउँदै मोक्तानले भने, ‘पूर्वी पहाडमा यस्ता अन्धविश्वास अझै पनि छन्, हामीले यो नाटकको माध्यमबाट यस्ता पुरातन सोच शिक्षाको चेतनाले भत्काउनुपर्छ भन्ने शिक्षा दिन खोजेका हौं ।’

धरानस्थित सगरमाथा कलेजका भाइस प्रिन्सिपल विशाल राईले आधुनिकतामा रमाउने युवा पिँढीले नाटकबाट धेरै कुरा सिक्ने बताए । नाटक हेर्न आएकी विद्यार्थी प्रमिला तामाङले कलेजमा किताबभित्रका कुरा मात्र थाहा हुने भए पनि नाटकले किताबबाहिरका धेरै कुरा सिकाउने बताइन् । दोहोर्यारएर नाटक हेर्न आएका स्थानीय नेता अइन्द्रविक्रम बेघाले नाटक हेरुन्जेल आफूलाई बिर्सिएको बताए ।

‘नाटकमा यति धेरै डुबेछु कि आफैंलाई बिर्सिएछु, कलाकारको जीवन्त अभिनयले नाटकघरसम्म दोहोर्याेएर ल्यायो’, उनले भने । उनले समाज परिवर्तनका लागि अनेक माध्यम भए पनि नाटकले छोटो समयमा प्रभावकारी भूमिका खेल्न सक्ने टिप्पणी गरे ।

दैनिक तीन सोसम्म चलेको नाटक करिब चार हजार दर्शकले हेरेको आयोजकको भनाइ छ । नाटक हेर्न धरानबाहेक इटहरी, उर्लाबारी, विराटचोकलगायतका सहरबाट दर्शक आएका थिए । दर्शकले मन पराएको उक्त नाटक चाँडै विराटनगर, काँकडभिट्टा र इटहरीमा पनि देखाउन माग भएको कलाकार दीपेन्द्रसिंह दर्नालले बताए ।

माघ ९ गतेदेखि मञ्चन भएको इङघङमा विष्णु मोक्तान, दीपेन्द्रसिंह दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, प्रसिका निरौला, निश्चल कुलुङ, मिलन राई, सोनम मगर, गेबी लिम्बू, उदिप लिम्बू र शंकर थापाको अभिनय रहेको छ । नाटकको लेखन तथा निर्देशन विष्णु मोक्तान, निर्माण संयोजन स्पन्दन राजा, संगीत विनायक राई, केलाङ नृत्यमा कुमार हुक्पा चोक्पा चोङबाङ र विशेष सहयोगीमा नेत्र छन्त्याल रहेका छन् ।

Naumule Badhipahiro