धुर्मुश-सुन्तलीविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी
काठमान्डौ – धुर्मुश-सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरेका हुन् । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको छ ।
उजुरीकर्ताले विभिन्न दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम समेतको सहयोगमा बन्दै गरेको रंगशालामा खर्च भए बराबरको काम नभएको र फाउण्डेसनले नै भ्रष्टाचार गरेको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ ।
अख्तियारमा उजुरी परेसँगै उजुरी दर्ता भएको र अब अनुसन्धान सुरु हुने अख्तियारले जानाएको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले बनाउने भनेको रंगशालामा हालसम्म ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइएको छ ।
रंगशालाको भौतिक प्रगति भने जम्मा १४ प्रतिशत मात्रै रहेको छ । करिब ३ अर्ब लागतमा बनाउने भनिएको रंगशालामा अनुमान गरिए अनुसारको सहयोग प्राप्त नभएको र आफूहरुलाई १७ करोड ऋण लागिसकेको भन्दै धुर्मुस-सुन्तली फाउण्डेसनले स्वामित्व ग्रहण गरिदिन भरतपुर महानगरलाई आग्रह गरेको थियो ।
त्यसलगत्तै भरतपुर महानगरपालिकाले भौतिक प्रगति र आर्थिक प्रतिवेदनका लागि शहरी विकास मन्त्रालय र नेपाल चार्टड एकाउन्टेन्टलाई लेखि पठाएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेलगतै विवादमा तानीएको थियो।
विभिन्न व्यक्ति संघ संथालेसामेत धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट रंगशालाको लागि भनेर पठाएको रकम हिनामिना गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजानिक गरेका थिए। यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भनेर पठाईएको पैसा धुर्मुस सुन्तलीले सेन्टी भाईरस नामक चलचित्र बनाएर हिना मिना गरेको थियो।