पोखरा उडेको गुण एयरको जहाजमा आकाशमै ढोका खुलेपछी ठुलो दुर्घटनाबाट बच्यो
काठमान्डौ – काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि काठमाडौंनै फर्काइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए ।
कस्तो खालको प्राविधिक समस्या हो भन्ने भने खुलेको छैन। प्राविधिकहरूले जाँच गरिरहेको उनले बताए। उक्त जहाजमा रहेका एकजना यात्रुले भने आकाशमै हवाईजहाजको ढोका खुलेपछि आफूहरुलाई काठमाडाैं विमानस्थलमै फर्काइएको बताए ।
काठमाडौंबाट उडेको करीब पाँच मिनेट मात्रै भएको थियो। जहाजले उँचाइ लिंदै गर्दा त्यही बेला यात्रु चढ्ने ढोका खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै फर्काइएको उनले बताए। यात्रुहरुलाई गुणकै अर्को हवाईजहाजमा पोखरा पठाइँदैछ ।
जहाजको आज बिहान करीब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करीब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो ।