मतपत्रको चिन्हमा हरियो रङ राख्दा सबैले रुखमा भोट हाल्ने भन्दै ओलीको आपत्ति

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । अखिल नेपाल महिला संघको कार्यक्रमलाई बसन्तपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्र हरियो बनाउने निर्णय तत्काल सच्याउन आग्रह समेत गरे।

अध्यक्ष ओलीलले ‘कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजेकोले त्यो आफूहरुले नमान्ने समेत बताए। अध्यक्ष ओलीले भने मैले सञ्चारमाध्याम हेरेको थिए। मतपत्रको चिन्हहरूमा हरियो रङ बनाउने आयोगले निर्णय गरेको भनेर। हरियो चिन्ह किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनु पर्यो भन्दै उनले प्रश्न समेत गरे।

म अत्यन्त व्यस्त भइरहेको छु । उहाँहरूसँग सोधौँला, बुझौँला । यदि हो भने, कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? के हिसाबले हरियो चिन्ह राख्ने ? अथवा कसैको हरियो देखिने चिन्ह छ त्यसकारण राख्ने ? केका लागि राख्ने ? सबैतिर जनताले आँखा नदेख्ने कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने हो ? किन हरियो राख्ने ? यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले नै त्यस्तो त्रूटी सच्याउनुपर्छ । हरियो-सरियो हुँदैन ओलीले भने ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ओलीले बूढेसकालमा छोरीले नै बा-आमालाई सहारा दिने भन्दै छोरीलाई अभिभावकले स्वतन्त्र चेतनाका साथ बाच्न, उचित शिक्षा दिनेतर्फ सोच्नुपर्ने बताए ।छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदीबहिनीहरुले पनि छोड्नुपर्छ । छोरा र छोरी उस्तै हुन् । भाग्यमानीले छोरी पाउँछ र बूढेसकालमा स्याहारसुसार पाउँछ । छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन ।ओलीले भने। त्यसैले नीति निर्माण गर्दा सरकारले यस अभियानको रुपमा अगाडी बढ्ने समेत उनले बताए।