मोरक्कोमा शक्तिशाली भूकम्प एकहजार बढीको ज्यान गयो

भदौ २३

काठमान्डौ – मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार जना नाघेको छ । अहिलेसम्म १ हजार ३७ जनाको शव भेटिएको बीबीसीले जनाएको छ ।

भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ भने सयौँ घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

तर एकिन विवरण प्राप्त नभएको पनि बीबीसीको खबरमा उल्लेख छ । रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।

भवनको भग्नावशेषमा मान्छे पुरिएको आशंकामा खोजी भइरहेको छ । मानिसहरु सडकमा बसिरहेका छन् ।