रिगललाई पुनः थुनामा राख्न माग गर्दै महिला अधिकारकर्मीहरूको प्रदर्शन
काठमाडौं – महिला अधिकारकर्मीहरूले रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । रिगलले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका थिए।
महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटनाले संविधानको धज्जी उडाएकाले आफूहरु प्रदर्शनमा उत्रिनु परेको बताइन् । अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन् ।
रिगललाई कैद मिनाहा दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनशनरत छिन् । नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा रिगल अदालतबाट दोषी ठहर भई जेल परेका थिए ।
खुँडा प्रहार गरेर व्यक्तिहत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।असोज २४
रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।