मादक पदार्थ सेवन गरेर महिला जिस्काउने डीएसपीमाथी छानबिन सुरु
कार्तिक १४
काठमाडौं – मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहने गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि छानबिन थालिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उहाँमाथि छानबिन गरिरहेको छ, केन्द्रबाट पनि छानबिनका लागि समिति बनाउने तयारी छ’, ‘उहाँलाई दशैं अगाडि नै निलम्बन समेत गरिएको छ ।
प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ ।
उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ ।
२०७७ सालको वैशाख अन्तिममा इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख रहेका बेला पनि भट्टराई यस्तै प्रकरणमा कारबाहीमा परेका थिए ।
मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार गरेपछि उनलाई तत्कालीन ५ नं. प्रदेश प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको थियो ।