पशुपति क्षेत्रभित्र गाडी नचलाउन सर्वोच्चको आदेश
काठमान्डौ – सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इञ्जिनबाट चल्ने गाडीमा रोक लगाउन सरकारलाई आदेश दिएको छ ।
पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र गाडी चल्ने कुनै पनि बाटो नखोल्न पनि आदेश दिएको हो ।
खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने गाडी नचल्ने सुनिश्चितता गर्न सर्वोच्चको आदेश छ ।
यस्तै श्लेषमान्तक वनको केही भागमा शव गाड्ने परम्परा रहेकोमा सर्वोच्चले एक वर्षभित्र शव गाड्ने वैकल्पिक ठाउँको पहिचान गर्न पनि आदेश दिएको छ ।
एक वर्षपछि श्लेषमान्तक वनमा शव गाड्न र फाल्न नपाउने व्यवस्था गर्न सर्वोच्चको आदेश छ ।
पशुपति क्षेत्रमा पुरातात्विक महत्वका सम्पदा, वन बुट्यान, जीवजन्तु, चराचुरुङ्गीको बासस्थान रहेको र तिनको संरक्षण गर्नुपर्ने भन्दै सर्वोच्चले वनकाली, मृगस्थली, श्लेषमान्तक लगायतका वनक्षेत्रमा सर्वसाधारणको प्रवेशलाई समेत रोक लगाउन आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले गएको ७ माघमा गरेको फैसलाको पूर्णपाठ अस्ति सार्वजनिक गरेको हो। चैत १७