माओवादीको पकेटमा काङ्ग्रेस एमालेको गठबंधन

रुकुम – नेकपा माओवादी केन्द्रको पकड  क्षेत्र मानिने रुकुम पूर्वमा आसन्न स्थानीय चुनावका लागि सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले मोर्चाबन्दी गरेका छन् ।

मंसिर १६ गते हुन लागेको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा सहमतिमा साझा उम्मेदवार बनाएर उनिहरुले उम्मेदारी दर्ता गरेका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतमले दुई दलको सहमतिअनुसार अगाडि जाने सम्झौतामा हस्ताक्षर गरेर सोही अनुसार अघि बढिएको बताए ।

नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले उपाध्यक्षमा एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिएकी छन् ।

तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्य हुन् ।

यस्तै २ नं वडामा पनि कांग्रेस र एमालेबीचको सहमतिमा सूर्य चुनाव चिन्हमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदार बनाएका छन्।

सहमति पत्रमा कांग्रेस जिल्ला सभापति केशरमान रोका र एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् ।
समझदारीमा दुवै दलले साझा घोषणा पत्र बनाउने, जिल्लाका अन्य कार्यक्रममा समेत साझा संयन्त्र बनाउने र आलोपालो नेतृत्व गर्ने प्रस्ताव उल्लेख गरिएको छ ।

गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए । यो पालिकामा जम्मा ११ हजार १ सय ८० मतदाता  छन् । नेपाली कांग्रेसले रिचा सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेपनि समझदारीमा छाडेको छ  । मंसिर ३