प्रतिनिधि सभाबाट आउँदाे आर्थिक बर्षको बजेट पारित

काठमान्डौ –  प्रतिनिधि सभाबाट आउँदाे आर्थिक वर्ष २०८१/८२ काे बजेट पारित भएकाे छ । हिजो प्रतिनिधि सभाकाे आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएकाे हो ।

सरकारले गएकाे जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिनिधि सभामा गएकाे जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल शुरु भएको थियो ।

विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

यस पटक सरकारको बजेटमा सत्तापक्षका सांसदहरूले नै चर्को असन्तुष्टि जनाएका छन् । विशेष गरेर प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री वर्षमान पुनको निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको र कतिपय राष्ट्रिय आवश्यकताका योजनासमेत कटौती गरेको सांसदहरूको आरोप थियो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बजेट निर्माणमा कमजोरी भएको स्वीकार्नुभएको छ । बजेटलाई सन्तुलित बनाउने कोशिश गर्दा गर्दै पनि केही तलमाथि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थ र भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

आफूले आउँदो वर्षको बजेट विगतको भन्दा फरक तरिकाले निर्माण गर्ने कुरा पटक पटक गरेको तर परम्परागत ढङ्गबाट बजेट निर्माण गर्ने पद्धति बदल्ने प्रतिबद्धतामा पूर्णतः सफल हुन नसकेको उनको भनाई छ।

सत्ता समीकरण फेरिँदा बजेटको कार्यतालिका र प्राथमिकता पनि परिवर्तन भएकाले अर्थमन्त्री केही समस्यामा परेको प्रधानमन्त्री प्रचण्डले बताए  ।यस्तै सम्भव भएसम्म बजेटमा भएका त्रुटि सच्याएर सच्याउन प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री पुनको ध्यानाकर्षण समेत गराएका हुन। असार १२