गोरखाबाट ल्याइएको दडादशैंको फूलपाती हनुमानढोका दरबारमा यसरि भित्र्याईयो ,,

असोज ३० , काठमाडौं – गोरखाबाट ल्याइएको दडादशैंको फूलपाती पञ्चबाजा र सैनिक वैण्ड बाजासहित विशेष उत्सवका साथ हर्षबढाईं गर्दै हनुमानढोका दरबारमा भित्र्याइएको छ । गोरखा दरबारबाट विहानै फूलपाती पठाइएको थियो । दरबारबाट बोकेर ल्याइएको फूलपाती सतीपिपलको फूलपाती चौताराबाट जिपमा राखेर काठमाडौं पठाइएको थियो ।
उखु, अदुवा, तथा केराको बोट, धानको वाला, वेलपत्र, दारिम, हलेदो, अशोकको पातसहित फलफूल र अन्य पालुवासमेतको फूलपातीलाई धादिङको जीवनपुरबाट बोकेर जमल ल्याइएको थियो ।फूलपातीलाई डोलीमा राखेर गुरुजुको पल्टन, पञ्चेबाजा, मंगलसेनी, कलसेनी, हवलाको सामान (चन्द्र, सूर्य, घण्टा र चामर बोकेको टोली), ब्याण्डबाजा, समरजंगको टोली र नेपाली सेनाको पल्टनले हनुमान ढोकादरबार पुर्याएको हो ।मूलचोक पुगेपछि फूलपातीलाई कुभिन्डो र बोका बलिसहित पूजा गरिसकेपछि दशैंघरमा राखिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो ।बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो
।
