चल्ती गाडीमा पकेट मार्दा यस्ता हुन्छन सांकेतिक भाषा पैसालाई द, अन्य सामान छन् भने …..
पुस ४ ,काठमान्डौ – प्रहरीले उपत्यकाका सार्वजनिक सवारी साधनहरुमा चोरी र लुटपाट गर्दा पकेटमारहरुले आफ्नै खालको सांकेतिक भाषाको प्रयोग गर्ने गरेको खुलासा गरेको छ ।त्यहाँ उनीहरुको २ देखि ६ जनासम्मको समूह हुने गर्दछ । जब भीडमा उनीहरु घुस्छन् तब उनीहरुले सांकेतिक भाषाको प्रयोग गरेर पकेट मार्ने गर्छन् ।
उनीहरुले पैसालाई द, मोबाइललाई कान, पकेटमारी पीडित– रामे, पकेटमारी गर्ने (मास्टर) काशी, पैसा धेरै भएको यात्रु देखिएमा टानको द, पैसा थोरै भएको यात्रु देखिएमा जुटको द भनेर सांकेतिक भाषाको प्रयोग गरेको पाइएको छ ।
त्यस्तै उनीहरुले गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई आयो ठूलदाई, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग्नलाई टप्की, गाडीभित्र अगाडि सर भन्यो भने अकल जा, गाडीभित्र पछाडि सर भन्यो भने चिछल जा भन्ने सांकेतिक भाषाहरु प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ ।
यो विषयमा एसएसपी लामा यस्तो भन्छन ?
लुटपाटमा संलग्न अपराधीहरुले विशेषगरी बाहिरबाट आएका व्यक्तिहरुलाई टार्गेट बनाउने गरेको पाइएको परिसरका एसएसपी वसन्त लामा बताउँछन् । पुरुषले चोरी, लुटपाटमा विशेषतः सुन्दरी महिलाहरुलाई प्रयोग गर्ने गरेको उनले बताए ।
१५ दिनमै यति ठूलो संख्यामा चोरी, लुटपाटमा संलग्न अपराधीहरुलाई पक्राउ गर्नु नेपाल प्रहरीको सफलता भन्दै एसएसपी लामा भन्छन्, ‘यातायात व्यवसायीहरुसँग सहकार्य गरी ५० जनाभन्दा बडि सादा पोसाकका प्रहरीलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्न लगाएका थियौं । त्यस क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
यसरी चोरियो मेरो १ लाख ५ हजार : पीडित सिंह ,,
नामः सुरेन्द्र बहादुर सिंह
वर्षः ५३ को
स्थानः कैलाली
नातीको उपचार गर्न भनेर कैलालीबाट हिँडेका सिंह मंसिर २५ गते काठमाडौंको नयाँबसपार्क उत्रिएपछि घटना कसरी भयो उनकै भ्वाइसमा ।नयाँबसपार्कबाट नातीको उपचार गर्न भनेर अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल जान गांगंबुबाट कान्तिपुर यातायात चढे ।बसमा एकदम भीडभाड । साथमा दुईवटा झोला ।
भीडभाडमा अफ्ठ्यारो भएको कारण ७÷८ जना युवाहरु आएर घेरेर मायालु स्वरमा बुबा यहाँ बस्नुस्, झोला हामी लिगिदिन्छौं भने ।राम्रै मान्छे जस्तो लाग्यो । होला त नि भनेर एउटा झोला उनीहरुलाई बोक्न दिए । एउटा आफैंले बोके ।
सबैले घेरिरहेका थिए । नारायण गोपाल चोक नपुग्दै ती युवाहरु एकैचोटी उत्रे । मेरो ज्याकेटको च्यान खुल्ला थियो । यसो गोजी छामेको त पैसा थिएन । त्यो पनि ऋण खोजेर ल्याएको ।
उनीहरु कता गए मलाई थाहा थिएन । गाउँले मान्छे । काठमाडौंमा यस्तो हुन्छ भन्नी केही थाहा थिएन ।नगद ७५ हजार थियो । एटिममा ३५ हजार थियो । बुढो मान्छे भएको कारण एटिम नम्बर पनि एउटा पन्नामा लेखेर ल्याएको थिएँ ।
त्यसपछि महानगरीय प्रहरी वृत, महाराजगञ्ज गएँ । प्रहरीलाई घटनाबारे जानकारी गराएँ ।नेपाल प्रहरीको अथक प्रयास र अहोरत्र खटेर अपराधीलाई पक्राउ गर्नुभयो । यसमा हृदयदेखि नै प्रहरीलाई धन्यवाद दिन चाहन्छु ।यी अपराधीहरुलाई कडा भन्दा कडा कारबाही होस् ।
सरोज सिटौला, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महासचिव
सार्वजनिक बसहरुमा यस्ता घटना धेरै हुने गरेको खबर बारम्बार आएपछि परिसरका एसएसपी वसन्त लामालाई आफैंले जानकारी गराएको सिटौलाले बताए ।धेरै ठाउँमा पाकेट मारेको कुरा पहिला मिडियाले धेरै नै हाइलाइट गरेको कारण यो कुरामा आफू पनि गम्भिरताका साथ लागेको र यसमा सफल भएको पनि उनले जिकिर गरे ।
पिक पकेटिङ गर्नेको जस्ताको तस्तै बयानः पहिलो
सिकेर गरेको हो । भीडभाडमा धकेलाधकेल गरेर चोरी गर्ने गथ्र्यौं । पिक पकेटिङ गरेको पैसा सबै जाँड खाएर नै सकिन्थ्यो । हामीले पिक पकेटिङ गर्ने रुट मुख्यत चक्रपथ क्षेत्र हो । ६÷७ महिना अघिदेखि यो पेशा सुरु गरेको हुँ । मान्छे हेर्दैमा त्यो सँग पैसा छ कि छैन भन्ने थाहा हुन्छ । मान्छेको लवाईखुवाईबाट पनि त्यो मान्छेसँग पैसा छ कि छैन भन्ने कुरा थाहा पाउँछु ।
गाडीभित्र भीडभाड भएको अवस्थामा नजिकै रहेको मान्छेको बाहिरबाटै गोजी छाम्ने गर्थें । अनि पैसा छ भने साथीहरुलाई बोलाएर कोड भाषा प्रयोग गरि लुट्ने काम गर्थें । बाहिरी गोजी देख्दैमा पनि थाहा हुन्थ्यो पैसा छ कि छैन भन्ने कुरा ।
पिक पकेटिङ गर्नेको जस्ताको तस्तै बयानः दोस्रो
बाहिरबाट हेरिन्छ , अनि सिधै थाहा हुन्छ त्यो मान्छेसँग पैसा छ कि छैन भन्ने कुरा । पिक पकेटिङ गरेर चोरेको पैसा कोठाभाडा पनि तिर्छु, प्राय सबै खाएर नै सकिन्छ । मेरो ग्याङमा ७÷८ जना छन् । २÷३ वर्षदेखि यो पेशामा आबद्ध छु ।
अहिलेसम्म सबैभन्दा बढि चोरेको कुरा मलाई याद छैन् । अहिलेसम्म एटिम चाहिँ छैन् । धेरैपटक पक्राउ पर्दै छुट्दै आइरहेको छु । मैले ड्राइभर पेशा जानेको छु । तर, गाडी चलाउन जानेपनि यात्रुहरुको किचकिचले छाडर यो पेशा रोजेको हुँ ।
यात्रुहरुले उल्टै गाली गर्ने, तेरो बाउको गाडी हो र भन्ने गर्थें । मजदुरी गरे पनि पारा उही हो । यो काम नै मलाई सजिलो हुन्छ । दुख गरेर हिँड्ने मन नै भएन, खाली सुखमा रमाउने मात्र मन भयो ।