शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्द रुपा सुनारले दिएको मुद्दाको सुनुवाइ आज हुदै के होला

असार २९ ,काठमान्डौ – सञ्चारकर्मी रूपा सुनारले आफूलाई जातीय दुर्व्यवहार गर्ने बबरमहलकी घरबेटी सरस्वती प्रधान र उनलाई संरक्षणगर्ने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्द सर्वोच्चमा दिएको मुद्दाको सुनुवाई आज हुने भएको छ।

सर्वोच्च अदालतले उक्त मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासमा राखेको छ। सर्वोच्चले शिक्षा मन्त्री श्रेष्ठ र घरबेटी प्रधानलाई आज बहसका लागि बोलाएको हो।

सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाइ उनी विरूद्धको जाहेरी दर्ता गर्न माग गर्दै दिएको रिट दिएकी थिइन्।

तल्लो जात भन्दै रुपालाई सरस्वती प्रधानले घरमा कोठा दिन अस्विकार गरेकी थिइन्। आफूलाई जातिय दुर्व्यवहार गरेको भन्दै सुनारले प्रधानविरुद्द उजुरी गरेकी थिइन्। प्रधानलाई प्रहरीले पक्राउ गरेर लगेपछि तिन दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।

तर मन्त्री श्रेष्ठले पदीय ओहोदा रहेकैबेला प्रहरी कार्यालयमा पुगेर प्रधानलाई रिहा गराएर सरकारी झन्डावाला गाडीमा राखेर लागेका थिए। सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन्।