नेविसंघका दुई समूहबीच कुटाकुट र ईट्टा प्रहार ,

फागुन १४ ,ललितपुर- नेपाली कांग्रेसको दुई पक्षबीच झडपले उग्ररुप लिएको छ । केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ ।

संस्थापन पक्षका ऋषिजंग शाही र कृष्ण प्रसाद सिटौला पक्षका सुशील भट्ट नेतृत्वको नेविसंघका नेता कार्यकर्ताबीच झडप हुँदा दुबै पक्षका गरी एक दर्जन कार्यकर्ता घाइते भएको जनाइएको छ ।

झडपमा पत्रकार केशव साउदसहितका ३ जना पत्रकार समेत सामान्य घाइते भएको बताइएको छ । दुई पक्षीय झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले पत्रकार समेतलाई लाठीचार्ज गरेको हो ।

पत्रकारको परिचयपत्र देखाउँदा समेत प्रहरीले लाठीचार्ज गरेको बताइएको छ । भट्ट र शाही नेतृत्वको दुई गुटका नेता कार्यकर्ताहरु पार्टी कार्यालयमा पक्षविपक्षमा प्रदर्शन भइरहेको बेला एकाएक इट्टा हानाहान हुन पुगेको एक विद्यार्थी नेताले जानकारी दिए ।

उनका अनुसार सिटौला पार्टी कार्यालय प्रवेश गर्दा शाही समूहले उनीविरुद्ध चर्को नाराबाजी गरेको थियो भने सभापति शेरबहादुर देउवार विमेलेन्द्र निधि आउँदा भट्ट नेतृत्वको समूहले नाराबाजी गरेको थियो ।

भट्ट समूहले देउवाविरुद्ध नाराबाजी गर्दै गर्दा भीडबाट ढुंगा समेत प्रहार भएपछि दुई पक्षबीच एकाएक ढुंगा हानाहान हुन पुगेको थियो । सानेपामा अहिले ब्यापक सुरक्षा कर्मी परिचालन गरिएको छ ।