३० बर्ष पहिले बाट यक हातले काम गरि परिवार समालदै आयका यक ब्यक्ति को रोचक कथा ,,

रंग दर्पण १५ फागुन -धरान : सर्पले टोकेका कारण समयमा उपचार हुन नसकेपछि धरान उपमहानगरपालिकाका १५ का ४५ वर्षिय शम्भु गहतराजले ३० वर्ष अगाडि देब्रे हात गुमाए। सर्पले टोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना भएका उनलाई चिकित्सकले देब्रे हात काट्न सल्लाह दिए।

डाक्टरको सल्लाह अनुसार देब्रे हात काटेर फर्किएका उनी अहिले एक हातले झम्पल हानेर धरानका सडकहरुको निर्माण गरिरहेका छन्।

घरको आर्थिक अवस्था कमजोर रहेका शम्भुकी श्रीमती पनि अशक्त छन्। एक मात्र छोरीको विवाह भएपछि श्रीमतीको लालन पालनका लागि उनले एक हातको सहाराले धरानमा दैनिक कुटो, बेल्चा र झप्फलको माध्यबाट सडक निर्माणमा जुट्छन्।

बारीमा घाँस काट्न गएका बेला सर्पले टोकेर उपचार अभावका कारण देब्रे हात गुमाउनु परेको पीडा शम्भुले सुनाए। ‘देब्रे हात गुमाएपनि हिम्मत हारिनँ’, उनले भने, ‘मागी खानुभन्दा कामगरी खानै बेस भनेर दैनिक मजदुरी गर्दै आएको छु।’ दैनिक मजदुरीबापत् ठेकेदारले उनलाई ६ सय रुपैयाँ हाजिरा दिन्छन्।

शम्भुले एक हातले दैनिक मजदुरी गर्न थालेको २८ वर्ष बितेको बताए। ‘एक हातले काम गर्न अप्ठेरो भएपनि पेट पाल्न दुःख नगरी भएन’, शम्भुको भनाई छ। सर्पले टोकेर उपचारमा बेवास्ता गरेका कारण आफूले देब्रे हात गुमाउनु परेकोले स्वास्थ्य उपचारमा लापरबाही नगर्न उनको सुझाव छ।

सरकारले अशक्तलाई मासिक भत्ता दिने सुनेर धरान उपमहानगरपालिका गएका उनी उपमहानगरपालिका कार्यालयका कर्मचारीले पहल नगरेको गुनासो गर्छन्। सरकारले पूर्ण अशक्तलाई मासिक एक हजार र आसिंक रुपमा अशक्त भएकाहरुलाई मासिक ५ सय भत्ता दिँदै आएको छ।

धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेश कुमार इवारमले उनलाई अशक्त भत्ता दिलाउन तत्काल पहल गर्ने बताए।