स्वास्थ्यमा समस्या देखापरेपछि जापानका प्रधानमन्त्रीले दिए राजिनामा , ,
भदौ १२ ,टोकियो – जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार पत्रकार सम्मेलन मार्फत आफूले राजीनामा दिएको बताएका छन् ।
६५ वर्षीय प्रधानमन्त्री आबेले पदावधि सकिनु एक वर्ष अगावै राजीनामा दिएको जापानी सञ्जारमाध्यम एनएचकेले बताएको छ।
आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उनले राजीनामा दिएको आबेको निकट श्रोतले जनाएका छन्।
आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ।
उनले अहिले औषधि लिइरहेको पनि बताए । प्रधानमन्त्री सिन्जो आबेले आफूले स्वास्थ्यलाई मध्यनजर गर्दै र जनताको मतलाई कदर गर्दै राजीनामा दिनुपरेको बताएका हुन्।
आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्।एजेन्सी,