आज खुला गरे पछी रानीपोखरीमा भाइटीकाको रौनक,यस्तो छ किम्दन्ति

१ मंसिर, काठमाडौं । विसं १७२७ मा राजा प्रताप मल्लले आफ्ना दिवंगत छोरा चक्रवर्तेन्द्र मल्लको सम्झनामा बनाएको रानीपोखरी हरेक वर्ष भाइटीकाको दिन विशेष बन्ने गर्छ । वि,वाद र अन्योलका कारण भूकम्पमा भत्किएको पाँच वर्षसम्म पनि पुनर्निर्माण हुन नसकेको रानीपोखरी निर्माणकालीन स्वरुप पाएपछि पहिलोपल्ट यसवर्षको भाइटीकाको अवसर पारेर आज खोलिएको छ ।

पुनर्निर्माण भएको रानीपोखरी यसवर्ष भाइटीकामा खुलेको छ । यससँग दिदीबहिनी नहुने तथा विभिन्न कारणले भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् । २०७२ वैशाखको भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएपछि बालगोपालेश्वर मन्दीरमा लगाइने भाइटीका समेत प्रभावित भएको थियो । हालै मात्र रानीपोखरीसँगै बालगोपालेश्वर मन्दीर पुनर्निर्माण भएको छ ।

यसैले पनि यो वर्ष रानीपोखरीको महत्व झनै बढेको छ । अहिले यही मन्दिरमा भेटभएका कतिपयले अहिले दाजुबहिनीको नयाँ सम्बन्ध समेत स्थापित गरिसकेको पाउन सकिन्छ । अहिले रानीपोखरीको बीचमा रहेको सो मन्दिर भाइटीकामा दिदीबहिनी र दाजुभाइ नहुनेहरुले गएर टीका लगाउने केन्द्रको रुपमा विकास भएको छ । काठमाडौंको नेवार समुदायमा सांस्कृतिक रुपमा नै दिदीभाइ र दाजुबहिनी नहुनेले महादेवको मन्दिरमा गएर टीका लगाउने प्रचनल रहेको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा अध्यापनरत टिना मानन्धर बताउँछिन् । तर काठमाडौंका अरु महादेव मन्दिरभन्दा पनि रानीपोखरी बढी चर्चामा रह्यो ।

वि।सं। १७२६ मा छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानी भुवनलक्ष्मी पुत्र वियोगमा विक्षिप्त भइन् । उनैलाई सान्त्वना दिनको लागि तत्कालीन दरबारको मूलद्वारबाहिर सबै तीर्थको प्रतिनिधित्व गर्नेगरी रानीपोखरी निर्माण गरिएको भन्ने किंवदन्ती पाइन्छ । यद्यपि यसको नाम रानीपोखरी भने पछि राखिएको हो ।
५ वर्षसम्म लगाएर निर्माण गरिएको यो पोखरीको नाम सुरुमा न्हुगु पुखु राखिएको प्रताप मल्लकै रानीपोखरी अभिलखले स्पष्ट पारेको छ, जसको अर्थ हुन्छ नयाँ पोखरी । नेपाली, संस्कृत र नेवारी भाषामा लेखिएको सो अभिलेखले रानीपोखरीको महत्वलाई बुझाएको छ ।

देवमाला वंशावलीका अनुसार रानी भुवानलक्ष्मीले आफ्ना इष्टदेव महादेवको मूर्ति राखेर पोखरीको बीचमा मन्दिर बनाइन् । त्यतिबेला उनीहरुको इष्टदेव यमलेश्वर महादेवको स्थापना गरिन् । त्यसैलाई पछि बालगोपालेश्वर नामले चिनाउने गरिएको हो । यो मन्दिरमा भाइटीकाकै दिन किन मेलालाग्न थाल्यो र बाल गोपालेश्वर नाम पनि किन राखियो भन्नेमा धेरै इतिहासकारहरु समेत बेखबर छन् । तर यतिकुरामा सबै स्पष्ट छन् कि यहाँ भाइटीकामा टीका लगाउने चलन त्यति पुरानो भने छैन ।

यमलेश्वर मन्दिरमा भाइटीकाको दिन टीका लगाउने चलन कहिलेदेखि सुरु भयो भन्ने बारेमा यकिन जानकारी नभएको प्रा। दिनेशराज पन्त बताउँछन् । यो सम्भवतः पछिल्लो कालखण्डमा आएर चलेको चलन हुनुपर्छ भन्ने उनको मान्यता छ । केही समयअघिसम्म हालको विद्युत प्राधिकरणको भवननजिकै एउटा ढुंगेधारा थियो । सो ठाउँलाई बाल मसान भनेर चिन्ने गरिन्थ्यो । बालबच्चा अकालमा मरेपछि उनीको अन्त्येष्टि यही ठाउँमा आएर गरिन्थ्यो । प्रा। पन्त आफूले पनि बाल मसान र ढुंगेधारा देखेको बताउँछन् । त्यही बालमसानको नजिक रहेको भएर सो मन्दिरको नाम बालगोपालेश्वर राखेको हुन सक्ने दाबी पनि कतिपय इतिहासकारहरुको छ ।

पहिलेपहिले सो मन्दिरमा दर्शन गर्न जानेहरु त्यही पोखरीमा हामफालेर आत्महत्या गर्न थालेपछि राणा कालदेखि बार लगाउने काम गरिएको अनुमान गरिन्छ । प्रामाणिक इतिहास खोज्ने हो भने जुद्ध शमशेरको पालादेखि मन्दिरसम्म जाने बाटोमा व्यवस्थित पर्खाल लगाउन थालिएको हो । तर जंगबहादुर राणाले पुनर्निर्माण गरेको समयमा समेत यसमा पर्खाल लगाएको अवशेषहरु भेटिएको पन्त बताउँछन् ।

यो मन्दिरमा कमै मात्रामा पाइने मध्यकालीन मृण्मय कला अझै पनि सुरक्षित छ । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी मूर्तिकला विषयकी प्राध्यापक सन्ध्या खनालका अनुसार नेपालमा कमै मात्रामा पाइने मध्यकालीन मृण्मय कलाको सुन्दर नमुना यो मन्दिरमा देख्न सकिन्छ । यो मन्दिरको चार कुनामा चार किसिमका देवता स्थापना गरिएको छ । तर ती देवताहरु के महत्वका आधारमा स्थापना गरियो रु भन्ने कुरा भने खुलेको छैन । पाञ्चायन देवताको प्रयोग गरिएको भन्न पनि सूर्यको मूर्ति यहाँ पाइँदैन ।

रानीपोखरी मन्दिरको बीचमा यमलेश्वर मन्दिर बनाइसकेपछि पोखरीको बीचमा विभिन्न तीर्थको पानी राखेर पवित्र बनाइयो । यो मन्दिर एकै ठाउँमा सबै तीर्थको संगम बनाउने उद्देश्यले बनाइएको थियो । बद्रिनाथ, केदारनाथ, गोसाइँकुण्ड, मुक्तिनाथ, कालीगण्डकी आदि पवित्र नदीहरुको जल ल्याएर पोखरीमा चढाइएको थियो । साथै, गंगा, सिन्धु, सरस्वती लगायत प्राचीन नदीहरुको पनि पानी राखेर यसलाई सर्वतीर्थको महत्व दिइएको थियो ।

बालगोपालेश्वर मन्दिरको छेउछाउ तर पोखरीको मध्यभागमा नै ४ किसिमको फरक फरक मन्दिरहरुले घेरिएको छ । उत्तरपश्चिमी क्षेत्रमा भैरवको मन्दिर छ, उत्तरपूर्वी क्षेत्रमा पनि भैरवकै मन्दिर छ । दक्षिणपूर्वी भेगमा महालक्ष्मी९दूर्गा० र दक्षिणपश्चिमी भेगमा १६ हाते गणेशको मन्दिर राखिएको छ । मन्दिरको भित्र विष्णुको पनि मूर्ति राखिएको छ ।