पेस्तोल सहित विप्लव समूहका सेक्सन कमान्डर प,क्राउ,को हुन् कमान्डर

७ मंसिर । मोरङ प्रहरीले उर्लाबारीबाट प्रतिबन्धित नेकपा (नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह)का एकजना सैन्य लडाकुलाई पेस्तोलसहित पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधिमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद गरेको छ । एसपी खड्काला विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको मोरङ प्रहरीले बताएको छ । उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधी सञ्चालन गरिरहेको खुलेको छ ।

पक्राउ परेका व्यक्ति विप्लव समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको एसपी खड्काले जानकारी दिनुभयो । शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने तयारी रहेको एसपी खड्काले बताउनुभयो ।
