कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेटरमा कोरोना पुष्टि

काठमाडौं-बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब परीक्षणमा तीन क्रिकेटरको रिपोर्ट पोजिटिभ आएको छ । प्रशिक्षण अघि गरिएको स्वाब परीक्षणमा नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेटरमा संक्रमण पुष्टि भएको हो।

कप्तान मल्लले सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण देखिएको पुष्टि गरेका छन्। उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड आफूले पालना गर्ने बताएका छन्। कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
कप्तान मल्लले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्। बन्द प्रशिक्षणमा बोलाइएका २२ खेलाडीमध्ये १६ जनाको स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो। केही खेलाडी केही दिनपछि प्रशिक्षणमा सहभागी हुनेछन् भने केहीमा यसअघि नै संक्रमण देखिएको थियो।
