उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन यस्तो छ

काठमान्डौ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्दै अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ।

त्यस्तै प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो।

स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ ।उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् ।

आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो ।  जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।

यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिदैछ। निषेधाज्ञामा खाद्यान्न पसलपनि बन्द गरिएको थियो ।

केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको पाईएको छ ।विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन्।

नेपालमा कोरोनाको दोस्रो लहर देखिनथालेपछि सरकारले बैशाख १६ गते देखि निषेधाज्ञा गरेको थियो । मोडालिटीमा केही परिवर्तन भएपनि निषेधाज्ञा भने कायम रहने जिल्ला प्रशासन काठमान्डौले जनाएको हो