चौरजहारी नगरपालिकाको बिसौ नगरसभा सम्पन्न
माग ८
रुकुम पश्चिम् – चौरजहारी नगरपालिका, रुकुम (पश्चिम) को बिसौं नगरसभा सम्पन्न भएको छ।
सभाले अति आवश्यकीय कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षको केही बजेट तथा कार्यक्रम संशोधन गरेको छ ।
साउन १ गतेदेखि पुस मसान्तसम्मको विषयगत प्रगतिकाे समीक्षाका साथै आम्दानी र खर्चसमेत अनुमोदन गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाको अन्तिम लेखापरीक्षणका क्रममा प्राप्त महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमा छलफल गरी सुझाव कार्यान्वयन गर्नुका साथै लेखा समितिको प्रतिवेदनबमोजिम सम्परीक्षणका लागि सिफारिस गर्ने निर्ण समेत गरेको छ ।
सभामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजाका बारेमा समेत छलफल गरिएको छ । चौरजहारी नगरपालिकाको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ९७ अङ्क प्राप्त गरेको छ।
नगरसभाले चौरजहारी नगरपालिका क्षेत्रभित्र र पोष्टमार्टम प्रयोजनका लागि शवबहान सेवा नि:शुल्क गर्ने निर्णय गरेको छ ।
सभामा नगर कार्यपालिकाको कार्यालय र सोअन्तर्गतका निकायहरूलाई विभिन्न समयमा नि:शुल्क जग्गा उपलब्ध गराउने ४१ जना जग्गादाताहरूलाई सम्मानसमेत गरिएको छ ।
त्यसैगरी चौरजहारी नगरपालिका क्षेत्रका तीन जना अग्रज गायकहरू दीलिपकुमार के.सी., खीमबहादुर सुनार र भद्रबहादुर शाहीलाई चौरजहारी नगरपालिका क्षेत्रको भाषा, कला एवम् संस्कृतिको पहिचान र प्रवर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरेको छ ।
नगरसभालाई सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, नगर कार्यपालिका र सोअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थाका कर्मचारीहरू, नगरप्रहरी, पत्रकार लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै महानुभावहरूप्रति हार्दिक धन्यवाद ।