जनयुद्धका कुशल कामन्डरले नेतृत्व गरेको गाउँपालिका एक नम्बरमा पर्न सफल

 

गोरखा – स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा गोरखाका ११ पालिकामध्ये वारपाक सुलिकोट गाऊँपालिका सर्वोत्कृष्ट देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको १० वटा सूचक र १ शय वटा उपसूचकका आधारमा गरिएको स्वमूल्याङ्कनमा वारपाक सुलिकोटले सबैभन्दा धेरै अङ्क प्राप्त गरेको हो ।

वारपाक सुलिकोटले जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै ६६ दशमलव ७५ प्रतिशत अङ्क प्राप्त गरेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

पालिकाको समग्र कामलाई पारदर्शी, जवाफदेही, ब्यवस्थित, सहभागीतामूलक, सेवाग्राहीमैत्री बनाउनतर्फ ध्यान दिइएकाले यो नतिजा प्राप्त भएको वारपाक सुलिकोटका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनुभयो ।

संस्थागत क्षमता स्वमूल्याङ्कनमा अजिरकोट गाऊँपालिकाले ६५ दशमलव ५, शहिद लखन गाऊँपालिकाले ६० दशमलव २५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

यस्तै सिरानचोक गाऊँपालिकाले ५२ दशमलव ५, धार्चे गाऊँपालिकाले ४६ दशमलव ५, गण्डकी गाऊँपालिकाले ४५ र चुमनुब्रीले ३३ दशमलव ५ अंक प्राप्त गरेका विवरणमा उल्लेख छ ।

जिल्लाका दुई नगरपालिकामध्ये गोरखा नगरपालिकाले ४२ दशमलव २५ र पालुङटार नगरपालिकाले ४१ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ ।

भिमसेन थापा गाऊँपालिकाले भने सबैभन्दा कम ३३ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको छ ।आरुघाट गाऊँपालिकाले स्वमूल्याङ्कनको प्रक्रिया शुरु गरेको छ ।

संघीय सरकार र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट अभिमुखीकरण नभएकाले स्वमूल्याङ्कनमा समस्या भएपनि अहिले प्रारम्भिक नतिजा तयारीको काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताउनुभयो ।

पालिकाहरुले १० वटा मुख्य सूचकका आधारमा आफूले गरेका कामको आफैंले मुल्याङ्कन गरेका हुन् । तर यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रुपमा समावेश गर्नुपर्ने ब्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो ।

पालिकाहरुको शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना ब्यवस्थापन, वित्तीय एवम् आर्थिक ब्यवस्थापन, सामाजिक समावेशीकरण जस्ता सूचकलाई मुल्याङ्कनको आधार मानिएको छ ।

यस्तै सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् ब्यवस्थापन र सहकार्य तथा समन्वय सहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मुल्याङ्कन गरेका हुन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार स्वमूल्याङ्कनको काम प्रत्येक आर्थिक वर्षको पुष मसान्तभित्र गरिसक्नुपर्नेछ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको तथ्याङ्कलाई आधार मानेर सबै सूचकको अङ्क गणना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्दा स्वमुल्याङ्कन नतिजालाई पनि आधार मान्न सकिने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो ।

कमजोर देखिएका स्थानीय तहहरुको क्षमता विकासका लाग कार्यक्रम सञ्चालन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।