भारतीयलाई नेपाली नागरिकता दिने वडा वडाध्यक्ष पक्राउ
असार २७ काठमान्डौ – भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा पक्राउ परेका छन्।
सापकोटा सहित नक्कली बाबु बनेका र साक्षि सहित ८ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोट प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।
भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका वडा नम्बर ६ बस्ने जमिर मियाँ भएको भन्दै नागरिकता बनाउन सिफारिस गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले ३३ वर्षीय भारतीय नागरिक देवन, नक्कली बुवा ५२ वर्षीय सफिअल्ला मियाँ, वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरूलाई पक्राउ गरेको हो।
वडाध्यक्ष सापकोटाले गत चैत १ गते पहिचान बिनै वंशजको आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी सिफारिस बनाइदिएको आरोप छ।
नक्कली बुवा बनेका ५२ वर्षीय सफिअल्ला मियाँको पनि नागरिकतामाथि अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ। उनले अर्घाखाँचीबाट नागरिकता बनाएको खुलेको छ। उनले देवन आफ्नै छोरा भएको र ममिता खातुन भन्ने आमाले सानैमा छाडेर गएको भन्दै झुठो विवरण पेश गरेका थिए।
वडाध्यक्ष सापकोटाले नक्कली बुबा आमाको नाता कायम गरी जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा गत चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए। जन्मदर्ता बनाएको १५ दिन भित्रै नागरिकता बनेको देखिएको प्रहरी निरीक्षक खानलले बताइन्।