प्रधानमन्त्री देउवाको सुरक्षा बढाईयो ओलीको घटाईयो
साउन २, काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षा बढाईएको छ भने निवर्तमान प्रधानमन्त्री केपि ओलीको घटाईएको छ । ओली पदमुक्त भएसंगै उनको सुरक्षामा खटिएको टोलि संख्या घटाईएको हो ।
यस्तै देउवाको सुरक्षामा नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि शाह नै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) थिए ।
गृह मन्त्रालयका एक अधिकृतका अनुसार देउवाले अतिविशिष्ट श्रेणीको सुरक्षा पाउनेछन्,। जसको नेतृत्व नेपाली सेनाले गर्नेछ ।देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरी बलको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना खटिनेछन् ।
पूर्वप्रधानमन्त्री ओलीको सुरक्षाबाट चाहिँ पूर्वडीएसपी राजन लिम्बुसहितको टोली मंगलबारै फर्किएको छ । हाल प्रहरी निरीक्षक माधव केसीको नेतृत्वको टोली ओलीसँग छ । कानूनतः ओलीले १५ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका कर्मचारीलाई सुरक्षार्थ राख्न पाउँछन् ।
तर ओलीको सचिवालयले थप १५ जना प्रहरीका सुरक्षाकर्मी माग गरेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । यसैबीच, पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षार्थ खटिएको टोलीको संख्या पनि बढाइएको छ ।
माधव नेपाल समूहको सहयोगमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै नेता नेपालमाथि सुरक्षा खतरा बढेको आँकलन गरेर सुरक्षा बढाइएको हो ।
देउवा प्रधानमन्त्री भएसँगै नेपाललाई एमाले कार्यकर्ताबाट थ्रेट बढेको सुरक्षा विश्लेषण छ । नेपालले आफ्नै पार्टी ढालेर विपक्षीलाई प्रधानमन्त्री बनाएको भन्दै उनको चर्को विरोध भैईरहेको छ ।