आफ्ना कार्यकर्तालाई मात्र कोरोना खोप दिने कांग्रेस मेयरलाई नागरिकले ढुंगा मुढाले लखेटे
विराटनगर – कांग्रेसले आफ्ना कार्यकर्तालाई रातारात घरमा पुगेर कोरोना खोप लगाएपछि विराटनगरमा नागरिकले आन्दोलन गरेका छन्। विराटनगर महानगरका प्रमुख भीम पराजुलीले मध्यरातमा आफ्ना निकट कार्यकर्तालाई कोरोना खोप लगाउने गरेका थिए।
कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका छन्। बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका मेयरलाई स्थानीयले ढुंगा मुढाले लखेटेका थिए।
गुपचुप रुपमा आफ्ना निकटलाई मात्र खोप दिएको सूचनापछि सो क्षेत्रको ठूलो भिड जम्मा भएर स्थानीयले लखेटेका हुन्। मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
स्थानीयको विरोधपछि मेयर पराजुली भागेर कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर गएका थिए । उनीसँग काङ्ग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि थिए।
कांग्रेस नगर उपसभापति प्रवीण जोशी भन्सार एजेन्टसमेत हुन्। काग्रेसको चुनाव नजिकिदै गरेको बेला आफ्ना कोल्टामा कार्यकर्ता पार्न चलाखी गरेका मेयर पराजुलीले झन्डै ज्यान बचाएका थिए।