नेपाल-चीन सीमाबारे अध्ययन समितिको प्रतिवेदन : सीमा विवादसंगै व्यवहारिक समस्या
काठमाडौं- नेपाल र चीनबीच सीमा समस्या समाधान हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ। सरकारले लिमी लाप्चादेखी हिल्सासम्म चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै अध्ययन समिति गठन गरेको थियो।
अध्ययन समितिले स्थलगत अध्ययनपछि गृहमन्त्री बालकृष्ण खाणलाई आइतबार प्रतिवेदन बुझाएको छ। गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदनले सो क्षेत्रमा सीमा विवादभन्दा पनि व्यवहारिक समस्याहरु बढी रहेको प्रतिवेदनमा देखाईएको खुलेको छ। सीमा समस्या सँगसँगै त्यस क्षेत्रमा देखिएका अन्य समस्या पनि हल गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख भएको श्रोतले जनाएको हो। प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएका थिए।
टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सदस्य थिए। मन्त्रिपरिषद् बैठकले १६ भदौमा सो सीमा अध्ययनका लागि समिति बनाएको थियो।