एमसीसी बारे छिटो निर्णय लिन प्रचण्डलाई विदेशमन्त्री लूको आग्रह
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।
सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्णय लिन आग्रह गरेको बुझीएको छ।
जवाफमा प्रचण्डले यसबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जवाफ दिएको प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिए । प्रचण्डको जवाफलाई उदृत गर्दै मल्लले भने अमेरिकी सहयोग लिन्नौं भन्ने आफ्नो धारणा नभए पनि एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको हुँदा यसमा हाम्रा केहि प्रश्न छन् भन्नु भएको छ।
एमसीसीको बारेमा तयार पारिएको सुरुआती दस्तावेजलाई पछि संशोधन गरिएको रहेछ । संसदबाट पारित गर्नुपर्ने लगायतका विषय राखिएका रहेछन् । त्यसैले यो नेपालमा विवादको विषय बनेको । एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको प्रचण्डले बताए ।