एमसीसी पास गर्न प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाईएको श्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
बैठक के बिषयमा बस्ने भन्ने जानकारी नभएपनि प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्ने बुझीएको छ।
सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।
यस्तै नेकपा माओवादी केन्द्र एकीकृत समाजवादी केन्द्रलगायतका दलले एमसीसी जस्ताको तस्तै पास गर्न नमिल्ने बताउदै आईरहेका छन्।पछिल्लो समय सरकारभन्दा बाहिर रहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने बताएका थिए। अहिले देउवाले सरकार चलाईरहेका छन्।