कर्णालीका मन्त्री लामाविरुद्ध उच्च अदालतमा रिट दायर
काठमाडौं – कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । वीरेन्द्रनगर ३ निवासी विनिता बोगटीले मन्त्री लामाविरुद्ध रिट दायर गरेकी हुन् ।
रिटमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय भेगेका र मन्त्रिपरिषद समावेशी नभएको भन्दै रित दायर गरिएको हो। रिटमा मन्त्री लामा साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाइएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लो पटक माघ २३ गते पाँच मन्त्री नियुक्त गरेका थिए । मन्त्रिपरिषद् समावेशी नभएको भन्दै यसअघि उच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालले कारण देखाउन आदेश जारी गरेको छ ।