हायात होटलबाट झन्डै १ अर्बको युरेनियम पदार्थ कारोबार गर्ने कांग्रेस नेता महतसहित् ८ जना पक्राउ

काठमाडौं – काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटल परिसरबाट युरेनियम पदार्थसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। उक्त होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियम ३५ करोडमा कारोबार भईरहेको सूचनाको आधारमा प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरीले टोलीले सोमबार साँझ नेपाली कांग्रेस ललितपुरका नेता नवराज महतसहित ८ जनालाई पक्राउ गरेको हो।

महत गएको चुनावमा ललितपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा (क)मा उम्मेदवार भई पराजित भएका थिए। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका-१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी छन्।

यस्तै, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुरलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियम संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पार्किङस्थलमा राखेको बा५च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई पक्राउ गरेको थियो।

उनीहरुमाथि सोधपुछ गर्दा युरोनियम पदार्थ भारतबाट ल्याएको र प्रति किलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।प्रति किलो ३५ करोडका दरले उक्त युरोनियमको मूल्य ९८ करोड हुन आउने प्रहरीको भनाई छ। सोधपुछपछि प्रहरी युरोनियम कारोवारमा संलग्न अन्य ६ जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले कारसंगै बा२६प १६२८ नम्बरको मोटरसाइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचय पत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ ।जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्दा सात दिन म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।