चीनका विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
काठमान्डौ – चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी आज नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनि तीन दिने नेपाल भ्रमणकालागि भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने उनी विशिष्ट व्यक्ति हुन् ।नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सन्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको बुझीएको छ ।