रोल्पामा माओवादीलाई कांग्रेसको धम्कि आधा सिट नदिए एक्लै चुनाव लड्छौ
चैत ३०

रोल्पा – स्थानीय चुनाव नजिकिदै गर्दा नेपाली काँग्रेस रोल्पाले चुनावी भागबण्डा गर्दा आधा सिट नदिए एक्लै चुनावमा जाने धम्की दिएको छ । जिल्लाका १० पालिकामध्ये कम्तिमा ५ सिट आफूले नपाए एक्लै चुनाव लड्ने निर्णय गरेको नेपाली काँग्रेसले जनाएको हो ।
काँग्रेसले ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ७२ वटा वडामध्ये ३६ वडा अध्यक्ष आफूले पाउनुपर्ने माग राख्दै विज्ञप्ति समेत निकालेको छ।

३६ वडामा अध्यक्ष पाएको वडामा एक जना सदस्य र अन्य ३६ वडामा ३ जना सदस्य पाउनुपर्ने नेपाली काँग्रेस रोल्पा जिल्ला सभापति किशोरकुमार आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगतको चुनाव भन्दा अहिलॆ जिल्लामा पार्टीको संगठन मजबुत बनेकाले आफूहरूले आधा सिट पाउनुपर्ने कार्यकर्ताको दबाब रहेकोले सोही अनुसार नभए एक्लै चुनाव लड्ने तयारी गर्न निर्देशन दिएको ब्यहोरा विज्ञप्तिमा उल्लेख गरेको छ। २०७४ सालको स्थानीय चुनावमा रोल्पामा माओवादीले सात, एमालेले दुई र नेपाली काँग्रेसले एउटा स्थानीय तह जितेको थियो ।
