कर्णालीमा बाढी पहिरोबाट ३२ को मृत्यु २२ बेपत्ता
काठमान्डौ – निरन्तर १९ गतेदेखि सुरू भएको लगातार वर्षाले कर्णालीका विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ।
पछिल्लो एक सातामा वर्षाका कारण आएको पहिरो तथा विभिन्न प्रकृतिका विपदमा परि प्रदेशभर ३३ जनाको मृत्यु भएको छ ।
यस्तै बाढी पहिरोले अझै २२ जना मानिस बेपत्ता भएका छन् भने २१ जना घाईते भएका कर्णाली प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।
वर्षाका कारण घरमा क्षति पुगेर ४८० जना विस्थापित भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जुम्लामा मात्र विपदबाट ९ जनाको मृत्यु भएको छ। यस्तै सुर्खेतमा १, जाजरकोटमा ३, सल्यानमा २, कालीकोटमा ४, मुगुमा ८, हुम्लामा ४ र डोल्पामा २ जनाको मृत्यु भएको छ।
विपदमा परि बेपत्ता भएकामध्ये दैलेखमा १, जुम्लामा २, कालीकोटमा १९ जना छन्।
जाजरकोटमा १, रूकुम पश्चिममा १, जुम्लामा २, कालीकोटमा ७, मुगुमा ५, हुम्लामा ५ जना विपदबाट घाईते भएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ८ जना, दैलेखमा १०३ जना, जाजरकोटमा २, रुकुम पश्चिममा २, सल्यानमा ९, जुम्लामा ८६, कालीकोटमा ४८, मुगुमा १७८, हुम्लामा ४० र डोल्पमा ४ जना बर्षाका कारण घरमा क्षति पुगेपछि विस्थापित भएका छन्।वर्षाले प्रदेशभरका ६० वटा घरमा पानी पसेर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने २ हजार ८८९ परिवार निरन्तरको वर्षाले प्रभावित भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण कर्णाली राजमार्ग र त्यसका सहायक मार्गहरु अवरूद्ध भएपछि आवतजावतमा कठिनाई भएको छ। प्रभावित जिल्लाहरुमा जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली उद्दार कार्यमा खटिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घर क्षति भएर विस्थापित भएका परिवारका लागि प्रदेश सरकारबाट राहत पठाउने प्रक्रिया सुरु भएको छ भने घाईतेहरुको उद्दारका लागि निरन्तर हेलिकप्टर परिचालन गरिएको छ।
देशभर भारि बर्षाका कारण दशै मान्न गाउँ गएकाहरु राजधानी फर्किन सकेका छैन्न ।