यूएईलाई पराजित गर्दै नेपाल एसीसी एसिया कपका लागि छनोट

बैशाख १९

काठमान्डौ नेपाल एसीसी एसिया कपका लागि छनोट भएको छ । त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान पुग्न सफल भएको हो।

यो संगै नेपालले अब पाकिस्तानले आयोजना गर्ने एसिया कप खेल्नेछ । एसिया कपमा नेपालले पाकिस्तान र भारतको समूहमा रहेर खेल्नेछ । यसको अर्थ नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाउनेछ ।
यूएईविरुद्ध जितका लागि चाहिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो।

नेपाललाई जित दिलाउन गुल्सन झाले ६७ रन तथा भिम शार्कीले ३६ रन बनाए भने आशिफ शेख ८ रन तथा कुशल भुर्तेल र रोहित पौडेल समान १ रनमा आउट भए ।यूएईका लागि रोहन मुस्तफाले २ र आयान अफजल खानले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३३ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १७ रन बनायो । यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ तथा करण केसी र सन्दीप लामिछानेले २-२ विकेट हात पारे । सोमपाल कामी र गुल्सन झाले १-१ हात पारेका थिए ।