सुतिरहेको अवस्थामा बच्चा आमामाथि छुरा प्रहार

भदौ ५

बझाङ – बझाङको सदरमुकाम चैनपुरमा सुतिरहेकोबेला आमा र बच्चामाथि छुरा प्रहार भएको छ । सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएको हुन।

छुरा प्रहारबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएको प्रहरीले जनाएको छ।

मध्यराति १२ बजेतिर अनुहार मास्कले ढाकेको एक व्यक्ति कोठाभित्र प्रवेश गरेको र उसले सुरुमा बच्चालाई छुरा प्रहार गरेको घाइतेका श्रीमान् कलक विकले बताए ।

‘बच्चाहरू रोएपछि श्रीमती उठिछन् । उनलाई पनि छुरा हानेछ । उनीहरू कराउन थालेपछि मोबाइल लिएर भागेको रहेछ उनले भने ।

छुरा प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ भने बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्युँमा अन्धाधुन्ध छुरा प्रहार गरेको घाउ रहेको तर तीनै जनाको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले बताए ।

घटना घटेको केहिबेरदेखि नै प्रहरी आक्रमणकारीको खोजीमा लागिसकेको र घटनाको अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए ।
डीएसपी भण्डारीका अनुसार आक्रमणमा प्रयोग भएको छुरा विककै भान्साको रहेको पाइएको छ ।