हमासको आक्रमणमा परी मृत्यु भएका चार जनाको शव नेपाल ल्याईयो
काठमाडौं – इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल आईपुगेको छ।
पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ । आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ ।
न्यौपानेको शव भने गएराति नै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आज बिहान ल्याइपुर्याइएका धामी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै लगिएको छ ।
आशिषको शव पनि आइपुग्यो भने चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा चारवटा शव पठाइएको छ भने बाँकी ६ वटा शव पछि पठाइने छ ।
कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए ।
आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।कार्तिक ५